काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।
यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
के हो क्वाटी ? किन खाने ?
नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । आजको दिन लाई क्वाँटी खाने दिनको रुपमा पनि लिने गरीन्छ । जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।ृ१ेृ२े मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ ।
विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
.jpg)


