मंगलबार, श्रावण १२ गते २०८३
images
images

विपश्यना : जीवन जिउने कला

आषाढ ७, २०८२ शनिबार
  • 248
    SHARES
  • विपश्यना : जीवन जिउने कला

    काठमाडौं । व्यक्तीको जीवन शैली उसले बाँच्ने क्रममा भोगेका परिस्थिति, वातावरण, शैक्षिक, सामाजिक, आर्थिक साँस्कृतिक परिवेश एवं संस्कारले निर्धारण गरेको हुन्छ । जीवन शैली व्यक्तिका सपना, आकांक्षा, एवं उद्येश्यहरु हरेकको फरक– फरक हुन्छ । तर सपना र उदेश्यहरु पूरा गर्ने क्रममा भोगेका दुःख एवं वेदना प्रायः सबैको एकै खालको पाइन्छ । 

    images

    जीवनमा कुनै न कुनै समय सबैले दुःख पाएकै हुन्छन्,जटिल परिस्थितिको सामना गर्नुपर्नेहुन्छ । त्यसैले हरेक व्यक्ति शान्तिका साथ सुखी जीवन जिउन लालायित हुन्छन् । तर पनि पछिल्लो समय भौतिक सुख– सुविधाले सम्पन्न मात्र हैन हरेक मानिस दिन प्रतिदिन वास्तविक सुख,शान्ति,आनन्दबाट झन् झन् टाढा हुँदै गएको देखिन्छ ।  

    यो परिपे्रक्ष्यमा शान्तिका अग्रदुत  गौतम बुद्धका शिक्षा , वाणी ज्ञानलाई हामी एक पटक मनन गर्नैंपर्ने देखिन्छ ।  बुद्धले यो संसारमा निहित दःुख तथा त्यसका कारण र निवारणको मार्ग पत्ता लगाई आफ्नो जीवनपर्यन्त बहुजनहिताय, बहुजन सुखायका लागि यथेष्ट ज्ञान प्रचार–प्रसार गरे । सुखका साथ जीवन जिउने चाहना राखेकाहरुले बुद्धले देखाएको मार्ग अनुशरणको गर्नुपर्छ, हामीमध्ये धेरैले त्यो गरेको पनि पाइन्छ । संसारमा दुख छ, त्यको कारण र निवारण पनि पक्कै छ । 

    images

    बुद्धले चारवटा आर्य सत्य पत्ता लगाएपछि सिकाएको विपश्यना ध्यानबारेमा यो आलेख केन्द्रित छ । बाहिरबाट देखिने हरेक वस्तु हामीले हेरको÷देखेको जस्तो नहुन सक्छ । कुनै वस्तुलाई यथास्थिति (जुन अवस्थामा वा जस्तो छ त्यस्तै देख्नु) मै हेर्नु÷बुझ्नु नै विपश्यना हो । महान् विपश्यनाचार्य श्री सत्य नारायण गोयन्काले विपश्यनालाई सत्यको उपासना भनेका छन् । उनका अनुसार सत्य जिउने अभ्यास हो । सत्यलाई त्यसको मौलिक स्वभावबाटै हेर्न  बुझ्न सक्नु नै विपश्यना हो । यो सम्यक दर्शन र ज्ञान हो । 

    भगवान बुद्धको समयकाल तथा उहाँको परिनिर्वाणको ५०० बर्षसम्म विपश्यना ध्यान÷साधनालाई मानिसले पालना र निरन्तर अभ्यास गरे पनि पछि यो साधना लोप हुँदै गयो । समाजमा यसको चर्चा नै नभएको अवस्थामा पनि बर्मामा भने गुरुचेला परम्पराअनुसार शुद्ध रुपमा यो साधना÷विधिको निरन्तर अभ्यास तथा जगेर्ना गरियो । लगभग १०० वर्षअघि यो साधना बमाका प्रबुद्ध लैडी सयाडोले प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । उनले बुद्ध वचनका साथ यो साधना विधिलाई भिक्षुहरुमा मात्र सीमित नराखी गृहस्थीमा रहेका मानिससम्म प्रसार गरेको पाइन्छ । यो नै विपश्यना साधना सिकाउने प्रक्रिया पुनः सुरुवात थियो ।

    विपश्यना साधना दश दिवसीय आवासीय शिविरमा गई सिक्न सकिन्छ । यो काठमाडौंको मुहान पोखरीस्थित धर्मश्रृङ्गलगायत अन्य विभिन्न ठाउँमा निशुल्क र नियमित सिकाइन्छ ।  शिविर अवधिभर पूर्ण मौन (आर्य मौन बोली  मात्र नभइ हाउ भाउ आदिबाट पनि मौन ) रही पञ्चशील ः प्राणी हिंसा नगर्नू, झूठो नबोल्नू, चोरी नगर्नू, व्यभिचार नगर्नू र मादक पदार्थको सेवन नगर्नूको पालना गरी शिविरको नियममा रही यो साधना सिक्नुपर्छ । पञ्चशीलको पालनाले साधनामा समाधि अर्थात् एकाग्रता प्राप्तिका लागि ठूलो सहयोग प्राप्त हुन्छ । साधनाको एक अवस्थामा पुगेपछि मन र शरीर दुबै भौतिक तत्वको परिवर्तनशील (उदय–व्यय) सत्यलाई स्वःअनुभवबाट बुझ्न सकिन्छ र सत्यलाई हेर्न सहयोग प्राप्त हुन्छ । जब सत्य हेर्न सक्षम भइन्छ, तब ज्ञानको मार्ग प्राप्त गर्न सहयोग पुग्छ । यो ध्यान साधना तीन चरणमा सिकाइन्छ । 

    पहिलो चरण:आनापान (सहज स्वभाविक श्वासलाई हेर्ने विधि) । तीन दिनसम्म यो सिकाइ विधि निरन्तर अभ्यास गराइन्छ । 

    दोस्रो चरण : चौथो दिनमा विपश्यना (शरीरमा उत्पन्न हुने विभिन्न संवेदनाहरुलाई सही रुपले सजक भइ सतर्कताकासाथ समभावमा अवलोकन गर्ने विधि) विधि सिकाइन्छ । तथा यसको निरन्तर अभ्यास गराइन्छ । 

    तेस्रो चरण : दशौं दिन मंगलमैत्री (शिविर अवधिभर आफुले आर्जन गरेको पुण्यमा सबैलाई भागिदार बनाउने ध्यान साधना विधि) साधनाको विधि सिकाइन्छ । यसका साथै आर्य मौन पालनाको नियम पनि समाप्त हुन्छ । यसरी दश दिन शिविरमा रहँदै दश दिने विपश्यना साधना विधि सिक्न सकिन्छ । 

    मन र शरीरको परिवर्तनशील धर्मलाई स्वःको अनुभवबाटै अनुभूति गरी यथाभूत सत्यलाई हेर्न र बुझ्न सिकाइन्छ । त्यसैले जन्म-जन्मान्तरदेखि भोग्दै आएका मानव जीवनमा निहित दुःख, वेदना तथा मनमा रहेका विकारहरुलाई हटाई जीवनचक्रको भवसागरबाट मुक्तिको मार्गतर्फ अगाडि बढाउने विपश्यना साधनाबाटै एक पटक भए पनि ज्ञान हासिल गर्नुपर्छ । 

    बुद्ध जन्मेको देशका हामी नागरिक भन्दै सधैँ उनको नामको नारामात्र लगाइ रहनु भन्दा बुद्ध  शिक्षाको वास्तविक ज्ञान प्राप्त गरी उनलाई वास्तविक रुपमै सम्मान गर्न जरुरी छ । सबैले शान्तिपूर्ण जीवनयापन गर्न सके हरेको कल्याण हुनेछ । 
    ।।।भवतु:सब्ब मङ्गलम् ।।।

     

  • सम्बन्धित विषय:

  • # विपश्यनाः