मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खोटाङ पुगे देशव्यापी साइकल यात्रामा निस्किएका अभिनय कार्की

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 538
    SHARES
  • खोटाङ पुगे देशव्यापी साइकल यात्रामा निस्किएका अभिनय कार्की

    माघ ७ काठमाडौं । पर्यटन प्रवर्द्धन एवं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामिडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौं’ भन्ने मूल नाराका साथ गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ पुगेका छन् । 

    images

    दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ पुगेका साइकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिकोतर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अबिर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्व साइकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् । 

    ‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पूर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुनः राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीय स्थलको पर्चा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागिताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको कार्कीले बताए । 

    images

    करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साइकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए । 

    साथै कार्कीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५ हजार रुपियाँ, पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलिप दाहालले व्यक्तिगत रुपमा १ हजार रुपैयाँ र होटेल व्यवसायी संघका अध्यक्ष जीपी राईले १५ सय रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेको छन् । त्यस्तै प्रदेश नं. १ भित्र रहेका जिल्लाहरुमा आवास तथा खानाको व्यवस्थापन जिल्ला समन्वय समितिले गर्ने कुरा जिल्ला समन्वय समिती महासंघका प्रदेश अध्यक्ष टंक चौहान र केन्द्रिय सदस्य बबि चाम्लिङले बताएको कार्कीले एक्सप्रेस पानालाई बताएका छन् ।