माघ १६ काठमाडौं । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । विशेषगरी आज १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ ।
विसं १९९७ १० माघमा निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष १३ माघमा सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने १५ माघमा दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
सोही दिनको सम्झनामा र वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
.jpg)


