मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपयोगविहीन बन्यो खोटाङका दुई बसपार्क

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 240
    SHARES
  • उपयोगविहीन बन्यो खोटाङका दुई बसपार्क

    चैत १० खोटाङ । आफ्नै गाउँमा बसपार्क बन्ने भएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँका सोमप्रसाद आचार्यले चार रोपनी जग्गा उपलब्ध गराए । बसपार्क बनेपछि ‘चहलपहल बढ्छ, बजार बन्छ, गाउँकै स्थानीयले व्यापार व्यवसाय गर्ने वातावरण बन्छ’ भनेर आचार्यगाउँका स्थानीय बसपार्क निर्माणका लागि जग्गा दिन हौसिएका थिए । तर, अहिले बसपार्कमा नियमित बस नपुग्दा जग्गादाता निराश छन् ।

    images

    आचार्यगाउँमा बसपार्क निर्माणका लागि ७ स्थानीयले १५ रोपनी जग्गा दिएका थिए । बनेको वर्षदिनपछि १२ पुस २०७३ देखि आचार्यगाउँको बसपार्क सञ्चालनमा ल्याइएको थियो । दिक्तेलबजारबाट केही तल पर्ने आचार्यगाउँको बसपार्कमा सुरुदेखि नै नियमित बस नपुग्ने गरेको जग्गादाता पर्शुराम आचार्य बताउँछन् ।

    'बसपार्कमा बस आउने भनेपछि हामीले सुरुका बेला दुई दिन बाटो मर्मत गरेका थियौँ । अहिले बसपार्क पुग्ने बाटो ठिक छ । तर, बसपार्कमा बस आउँदैन,' आचार्यले भने, 'हामी पटकपटक नगरपालिकामा डेलिगेसन पनि गयौँ । तर, चासो दिइएन । लकडाउन अघिसम्म दुई चारवटा बस आउँदै थियो । त्यसपछि त बसपार्कमा बस देखिएको छैन ।' 

    images

    बस पुग्न छाडेपछि आचार्य गाउँको बसपार्क चौरमा परिणत भएको छ । केटाकेटी खेल्ने, बिस्कुन सुकाउने, गाईवस्तु चराउने थलो बनेको छ । करोडौं खर्च गरेर बनाइएको बसपार्कलाई उपयोगमा ल्याउनमा स्थानीय सरकार र यातायात व्यवसायीको चासो नपुगेको स्थानीय पर्शुराम बिश्वकर्माले बताए ।

    सोल्मा बसपार्कको अवस्था उस्तै 
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको डाँडागाउँमा निर्माण गरिएको बसपार्कको अवस्था पनि उस्तै छ । सोल्मामा बसपार्क निर्माणकालागि स्थानीयले २० रोपनी जग्गा निःशुल्क दिएका थिए । सोल्माको बसपार्क १४ पुस २०७३ मा उद्घाटन गरिएको थियो । मध्यपहाडी लोकमार्गकै छेउमा रहेको सोल्मा बसपार्कमा समेत नियमित बस लैजाने गरिएको छैन ।

    बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजोआज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासका सडकको कुनामा पार्क गर्ने गरिएको छ । धेरैजसो बस मध्यपहाडी लोकमार्गको कुनामा पार्क गरेर राख्ने गरिएको देखिन्छ । नियमित बस नपुग्ने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचनासमेत जीर्ण बन्दै गएको छ ।

    आचार्यगाउँको बसपार्कमा प्रहरी पोष्टका लागि बनाइएको अस्थायी टहरो भत्किसकेको छ । बसपार्क पुग्ने सडकको खराब अवस्था, बस्ने तथा खाने होटलको सुविधा अभावका कारण यातायात व्यवसायीले नियमित बसपार्कमा सवारी साधन लैजान नसकेको खोटाङ यातायात प्रालिका पूर्वी सेक्टर धनीराम राई नछुङ बताउँछन् ।न्यूज कारखाना