असार १३ मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) आजबाट सुरू भएको छ ।
मेलाको उद्घाटन गर्दै बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहको व्यवस्था पछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनु पर्ने बताए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै मुख्यमन्त्री पाण्डेले आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए ।
“राजनीतिक तहमा महिलाको हैसियत बलियो छ, आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनु पर्छ, बागमती प्रदेशले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न कृषिमा आकर्षण बढाएका छ” उनले भने ।कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दुध, जडिबुटी, औषधिको उत्पादन बढाउन लागि पर्न आग्रह गरे ।

“बागमतीको महिलालाई आर्थिक हैसियतमा उच्च बनाउन प्रदेश सरकार तयार छ यसैले हाम्रो प्रदेशमा उद्योगको विकास गर्न हामीले उद्योग मन्त्रालय छुट्टै व्यवस्था गरेछौँ” उनले भने । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिएको छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी छन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ । प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको अध्यक्षतामा मेलाको उद्घाटन गरिएको हो ।
.jpg)


