बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोकमा थपिए ३९५२ मतदाता

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 197
    SHARES
  • सिन्धुपाल्चोकमा थपिए ३९५२ मतदाता

    भदौ १२ काठमाडौं । सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । 

    images

    स्थानीय तहको निर्वाचनपश्चात नयाँ मतदाताहरूका लागि यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति तोकेपछि २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो । 

    असार १ गतेदेखि साउन २० गतेसम्ममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो । थप भएकासहित आउँदो निर्वाचनका लागि सिन्धुपाल्चोकमा कूल मतदाताको सङ्ख्या दुई लाख ६१ हजार छ सय १७ पुगेको निर्वाचन अधिकारी रिजालले जानकारी दिनुभयो । 

    images

    सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुई वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र चार वटा रहेको छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा ६७ हजार एक सय ७६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा ६४ हजार दुई सय ५९ जना मतदाता रहेका छन् ।

    त्यस्तै  प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा ६३ हजार तीन सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा (ख)मा  ६६ हजार आठ सय दुई मतदाता रहेका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरूले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिनुभयो । 

    मतदाता नामावली प्रति दावीविरोध भएमा त्यसको छानबिन गरिने उहाँको भनाइ छ । मतदाता नामावली अद्यावधिकपश्चात हाल कायम भएका मतादाता सङ्ख्यामा थपघट हुने उहाँले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा हाल एक सय ४४ मतदान स्थल र तीन सय १६ वटा मतदान केन्द्र रहेका छन् ।