मंगलबार, कार्तिक १८ गते २०८३
images
images

श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 478
    SHARES
  • श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

    मंसिर ५ सप्तरी । बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीकाे हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् । 

    images

    लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाकाे बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए ।

    उच्च अदालतले २९ मंसिर ०७७ मा लुकमानलाई पक्राउ गर्ने परमादेश दिएकाे थियाे । जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न रहेको आराेप छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मोहम्द फिरोजले आरोप लगाए।

    images

    ३० मंसिर ०७६ मा लुकमानसँग बहिनी (रोशन खातुन)को विवाह भएपछि ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको फिरोजले बताए । उनले भने,´दाइजो नदिएपछि  बहिनीलाई कुटपिट गर्दै विष खुवाएर मारे ।' 

    बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको मोबाइल सबै सुनेको फिराेजले बताए ।उनले भने, ´त्यो रेकर्ड हामीसँग सुरक्षित छ। हामी न्यायको आशामा छाैं । विष खुवाएपछि गम्भीर बनेकी बहिनीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।' इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले अदालतको पत्रअनुसार लुकमानलाई पक्राउ गरी मुद्दा दर्ता गरेको बताए । उनले भने,´घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ।`