मंगलबार, कार्तिक १८ गते २०८३
images
images

छोराको मोहले गर्भपतन गराउनेकाे संख्या बढ्दाे

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 184
    SHARES
  • छोराको मोहले गर्भपतन गराउनेकाे संख्या बढ्दाे

    पुस २५ सप्तरी । राजविराज नगरपालिका-१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन्।

    images

    उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः  छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ। उनले भनिन्, `मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो।´

    राजविराज नगरपालिका-२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भपतन गराइसकेकी छन्। उनले भनिन्,´तीनवटी छोरी भए पनि छोरा पनि चाहिने भएकाले छोरा पाउने आसमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ।´

    images

    उनकै छिमेकी ३८ वर्षीया प्रवीणा शर्मा (नाम परिवर्तन) ले छोरा पाउने आशमा पाँचवटी छोरी पाइसकेकी छन्। अझ पनि छोराको पर्खाइमा रहेको उनले बताइन्। उनले भनिन्, ´छोरीहरूले त विवाह गरेर गइहाल्छन्। बुढेसकालको सहारा भनेको छोरा नै हो। छोरा भएन भने समाजले पनि यसलाई छोरा छैन भन्छन् । पाँचवटी छोरीलाई जन्म दिने रहर थिएन ।´

    लिंग पहिचान गर्ने र गर्भपतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन्। लिंग पहिचान गर्न र गर्भपतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणाले बताउँछिन्।

    राजविराज-३ का ४७ वर्षीय शंकर दास (नाम परिवर्तन) को तीनवटै छोरीको विवाह भएपछि एक दुर्घटनामा छोराको मृत्यु भयो । छोराकै लागि उनले अर्को विवाह गरे। कान्छीपट्टि पनि उनकाे एउटी छोरी जन्मिएकाे छ। तर अझै छोराको पर्खाइमा उनको परिवार छ। उनले भने,´अर्को विवाह गर्ने सोच कहिल्यै पनि थिएन।भएको एउटा छोरा पनि नरहेपछि विवाह गर्न बाध्य भएँ ।´

    आफ्नो लागि भन्दा पनि अरूले यसको छोरा छैन भन्लान् भन्ने  डरले विभिन्न चुनौती सहेर छोरा पाउन बाध्य भएका सर्वसाधारण हाम्रो समाजमा धेरै रहेको नर्स रेखा देवले बताउँछिन्। उनले भनिन्,´हाम्रो समाज विस्तारै सचेत भएकाे छ। सबैलाई थाहा छ, छोराभन्दा छोरीले हरेक क्षेत्रमा बढी काम गर्न सक्छन्। आमाबुबाको राम्रो हेरचाह पनि छोरीले नै गर्छन्। तर पनि छोराप्रतिको मोह हट्न नसक्नु दु:खद हो।´

    राजविराजमा लामो समयदेखि भिडियो एक्सरे गर्दै आएका एक रेडियोलोजिस्टका अनुसार दिनहुँ लिंग पहिचान गरिदिन भनी तीनदेखि ६ परिवार आउने गर्छन्।

    नेपालको कानुनमा भ्रुण लिंग पहिचान गरी गर्भपतन गर्न, गराउन नहुने भनिएको अधिवक्ता दानो चौधरी बताउँछिन् । कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुण लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भपतन गर्ने, गराउने ब्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उनकाे भनाइ छ । उनले भनिन्, ´बाह्र हप्ताभन्दा बढी २५ हप्तासम्मको तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा ब्यवस्था छ।´

    अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउने संख्या सप्तरीमा उल्लेखनीय भए पनि यसको वास्तविक तथ्यांक नरहेको एक स्वास्थ्यकर्मीले बताए।न्युज कारखाना