काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलको नेतृत्व, समर्पण र योगदानको प्रशंसा गर्दै भावुक सन्देश सार्वजनिक गरेको छ।
क्यानले मंगलबार सामाजीक सन्जालमार्फत रोहितले कप्तानका रूपमा नेपाली क्रिकेटलाई नेतृत्व गर्दै राष्ट्रका आशा र सपनालाई काँधमा बोकेको उल्लेख गरेको छ। उनको नेतृत्वमा नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा गर्व गर्न लायक थुप्रै अविस्मरणीय क्षण सिर्जना गरेको क्यानको भनाइ छ।
टोली, राष्ट्र र क्रिकेटप्रतिको रोहितको प्रतिबद्धता सधैं प्रेरणादायी रहेको उल्लेख गर्दै क्यानले उनको समर्पण र दृढताको प्रशंसा गरेको छ।
क्यानले आगामी दिनमा पनि रोहितले यही भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटमा योगदान दिइरहने विश्वास व्यक्त गरेको छ। क्यानले भनेको छ , “एकपटक नेता बनेपछि, सधैं नेता नै रहन्छ।”




