मंगलबार, श्रावण १२ गते २०८३
images
images

अध्ययन अनुसन्धान केहीछैन जे पायो त्यँही 

“तथ्य बिनाका सिद्धान्त दिवास्वप्न हुन्” भन्ने जोनाथन रोटेनवर्गको भनाई वास्तवमा सार्थक छ । नेपाल एउटा देश हो । जहाँ पेट्रोल जोगाउन भन्दै दुई दिन विदा गरिन्छ र एक महिनापछि सरकारबाट बिदा फिर्ता लिइन्छ ।

एक्सप्रेस पाना
श्रावण १४, २०८० आइतबार
  • 741
    SHARES
  • अध्ययन अनुसन्धान केहीछैन जे पायो त्यँही 

    अर्जुन मोहन भट्टराई / विलसन मिनरले भनेझैं “एउटाको विचार लिए बैद्धिक चोरी हुन्छ, धेरैबाट विचार लिए अनुसन्धान”। हरेक पाइला र खुड्किलामा हामी नेपालमा अध्ययन र अनुसन्धाननै छैन जेपनि हचुवाको भरमा गरिन्छ; भनेर गुनासो गर्छां ।

    images

    तर हामी हाम्रो घर वा कार्यालयमा अनुसन्धान गर्ने प्रयोजनका लागि कुनै गणक आएमा हामी सहजै उपलव्ध हुन्छौ वा टार्ने प्रयास गर्छौ यक्ष प्रश्न छ । गणक भन्नाले जनसंख्याको गणना गर्न आउने व्यक्तीलाई बुझिन्छ । 

    “तथ्य बिनाका सिद्धान्त दिवास्वप्न हुन्” भन्ने जोनाथन रोटेनवर्गको भनाई वास्तवमा सार्थक छ । नेपाल एउटा देश हो । जहाँ पेट्रोल जोगाउन भन्दै दुई दिन विदा गरिन्छ र एक महिनापछि सरकारबाट बिदा फिर्ता लिइन्छ । यो त एउटा सामान्य उदाहरण मात्र हो ।

    images

    नेपालमा जे निर्णय, आदेश पनि बिना अध्ययन, अनुसन्धान, लहड, बहकाव, क्षणिक आवेग र उत्तेजनामा आएर गरिन्छ ।

    एकपटक एउटा टिभि अन्तर्वातामा का.म.न.पा.का तत्कालिन पूर्व मेयरलाई पत्रकारले काठमाडौमा कति घर छन् ? भनेर सोध्दा मेयरलाई थाहा नै छैन भन्ने उत्तर आयो ।

    अब बिचार गरौ हामी कति सतहमा काम गर्देछौ । न्यूनतम कति घर धुरी छन् भन्ने थाहा नभएपछि कार्यक्रम के-को आधारमा ल्याउने ? अनुसन्धान भन्नाले उपलव्ध श्रोत र सामग्रीलाई व्यवस्थित छानविन गरेर, केलाएर नयाँ तथ्य पत्ता लगाउनु निश्कर्षमा पुग्नु हो । तर सर्भे भन्नाले निश्चित समूहबाट कुनै विषयको बारेमा मात्र तथ्यांक लिने कार्यलाई बुझिन्छ । सामान्य तरिकाले हेर्दा अनुसन्धान र सर्भेलाई गहन र सरल भन्ने बुझ्दा हुन्छ ।

    अनुसन्धान भन्ने बित्तिकै गुणात्मक र संख्यात्मकलाई लिइन्छ । प्रायः जसो हामी कहाँ संख्यात्मक अनुसन्धान गरिन्छ । त्यो पनि अरुबाट गरिएको अनुसन्धानलाई प्रयोग गरिन्छ जसमा मेहनत पर्दैन । केवल तथ्यांक सापटि लिइन्छ । प्राथमिक अनुसन्धान महंगो र समय लाग्ने हुन्छ तसर्थ स्कुल र कलेजमा अरुबाट डाटा लिएर अनुसन्धान गरिन्छ । गुणात्मक अनुसन्धानमा लामा प्रश्न सोधी उत्तरदाताको बिचार बुझिन्छ भने संख्यात्मकमा बैकल्पीक उत्तर पनि दिइन्छ । जसबाट उत्तरदाताले छनौट गर्छ।

    नेपालमा अध्ययन र अनुसन्धान गर्न सिनास, नेपाल र एसियाली अध्ययन केन्द्र, सेरिड शैक्षिक अन्वेषण तथा विकास अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्र नार्कको स्थापनाहुनुको साथै सिंगो तथ्यांक बिभाग र बैदेशिक मामला इन्टिस्च्युट पनि छ । त्यसै गरी नाष्ट, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान परिषद छ । तर पनि मुलुकमा अध्ययन र अनुसन्धानको कमी नै छ । निजि क्षेत्रमा सन् १९७१ मा पहिलो पटक स्थापना भएको अनुसन्धान केन्द्र छ । यो अनुसन्धान केन्द्रले निरन्तर कार्य गरिरहेको छ । खासमा कुनै कार्यालयलाई कुनै खास योजना तथा कार्य गर्न तथ्याङ्क आवश्यक रहेमा अनुसन्धान केन्द्रबाट तथ्याङ्क संकलन गर्न लगाएर काम गराइन्छ । तथ्याङ्क संकलन गरिदिए बापत पैसा तिर्नुपर्छ ।

    बैज्ञानिक, आर्थिक, सामाजिक, मनोबैज्ञानिक अनुसन्धानका पाटाहरु छन् । अनुसन्धान भन्ने बित्तिकै एकै प्रकारका हुदैनन्, भिन्न प्रकृतिका हुन्छन् र बैज्ञानिक अनुसन्धान स्वभाविक रुपमा महंगो पर्छ । विश्वमा सबैभन्दा बढि प्रयोगमा आएको अनुसन्धान निरिक्षण र सहभागिता मुलक अनुसन्धान हो ।

    तथ्याङ्क विभागले गरेको २०७८जनगणनामा धेरै कमजोरी भए भन्ने विषय सुन्नमा आए । कुनै पनि व्यक्तिको बारेमा उसका यावत् कुरा उसंग सोधेर लेख्नु कठिन काम पनि हो र सुझबुझ कम भएको नेपाली समाजमा त झनै कठिन हो । राजधानी काठमाडौं लगायतका देशका अन्य शहर जस्तै नारायणगढ, बुटवल, पोखराका सडकमा जोखिमपूर्ण जिवन विताइरहेका सडक बालबालिकाहरुसंग उनिहरुको जिवनका बिबिध पक्षमा गरिएको अनुसन्धानमा आफू प्रत्यक्ष संलग्न रहेर अनुभव बटुल्ने क्रममा सायदै यति दुःख भोग्न परेन तर यो बिदेशी संस्थाको सर्भेमा बझाङ र मकवानपुर जिल्लाका बिकट गाउँमा जाँदा धेरै कष्ट झेल्नुपर्यो ।

    नेपालका शहरहरुमा सडक बालबालिकाहरुको तथ्याङ्क लिन जाँदा दिन रात नभनी भागाभाग गरी, फिल्डमा पुगि बालबालिकाहरुलाई भेटि प्रश्नावलि भर्दै उनिहरुसंग अनौपचारिक दुःख सुखको कुरा गरि त्यसलाई समेट्दा अनुसन्धान गहकिलो देखियो ।

    अनुसन्धानमा सबैभन्दा खड्केको कुरा समय सिमा र खर्चको परिधिमा रहँदा सोचे जस्तो परिणाम आउन सक्दैन । नेपालमा हुने धेरै अनुसन्धान पुर्वाग्रहले ग्रस्त हुन्छ वा कुनै कुरा देखाउन सिद्ध गर्न प्रमाणित गर्न, दाता खुशी पार्न पनि अनुसन्धान गरिन्छ । 
    अनुसन्धानकै कुरा गर्ने हो भने यहाँका बिदेशी र स्वदेशी संस्थाहरुले गरेको रिसर्चको किताबहरु फिजाउने हो भने पुरै पुर्व पश्चिम राजमार्गलाई ढाक्न पुग्छ तर परिणाम सुन्य छ । हामी कहाँ रिसर्च गर्न कुनै निकायको औपचारिक स्वीकृति लिनु पर्दैन । जसलाई मन लाग्यो प्रश्नावलि बनायो, शुरु ग¥यो ।

    बिदेशतिरको अनुसन्धानको बिधि गहन, खर्चिलो, समय लिने किसिमको देखिन्छ जहाँ अनुसन्धान गर्न अगाबै अनुसन्धान प्रस्ताव तयार गरिन्छ र अनुसन्धानका उदेश्य खुलाइन्छ । नेपालमा सबैले रिसर्च गर्न रुचाइएको बिषय सडक बालबालिका हो । थाहा छैन किन हो तर त्रि.बि. पुस्तकालयमा जाने हो अधिकांश सोधपत्र भेटिन्छन् । हुन त पोखरामा रहेका पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तरको लागि तयार पारिएका अधिकांस सोधपत्र गण्डकी नुडल्सको उत्पादन रारा चाउचाउसंग सम्वन्धित छन् ।

    देशमा औद्योगिकरण नभएको, सिमित व्यापारिक संस्था रहेको, उद्योग व्यवसाय अति न्युन रहेकाले विद्यार्थिहरुका लागि सोधपत्र तयार गर्न बिषय नै छैनन् । आजकल स्र्टाटपपको हुटहुटि चलेको छ । यसमा पनि अनुसन्धान जरुरी छ, तर त्यो क्षेत्रको बारेमा अध्ययन अनुसन्धान तथ्य नबुझि सरकारले बजेट दिन्छ । 

    सडक बालबालिकाहरुको बारेमा रिसर्च गर्दा प्रश्नावलि तयार गरि अन्य संस्थाहरुसंग परामर्श गर्दाको अनुभव भने बेग्लै छ । सडकमा रहने बालबालिकालाई प्रश्न गर्दा कतिपय बच्चाले प्रश्न नै बुझ्दैनन् भने उत्तर दिन झर्को मान्दछन् । नमानुन् पनि किन सबै आउछन्, प्रश्न तेर्साउछन्, समस्या जहाँको तेहि छ ।

    २०५३ साल भाद्र महिनातिर गणक बनेर काम गर्दाको नालिबेलि जसमा सुन्दा अचम्म पनि लाग्न सक्छ । किन की त्यो बेला गणक बन्ने साथिहरु मध्ये केहि अहिले जानेमानेका अनुसन्धानकर्ता हुनुहुन्छ । एउटा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको सर्भेका लागि दुई महिना नेपालका बाँके, बझाङ, भोजपुर, मकवानपुर, रोैतहट,चितवन र झापा गरि ७ जिल्लामा करिव ७० जना जतिलाई अनुसन्धानका लागि पठाईएको थियो । यो मेरा लागि नयाँ अनुभव थियो । शुरुमा गणकहरुलाई तालिम दिइएको थियो । टिममा म भन्दा कम उमेरका साथिहरु थिए । जसमा दुई युवा र दुई युवतीको समुहमा मिलेर काम गर्नुपथ्र्यो । दैनिक भत्ता र गाडि भाडाको व्यवस्था थियो । 

    झोलाभरी फाराम बोकेर हामी चार जना दुई केटा दुई केटि कार्यक्षेत्रतर्फ लाग्यौ । जसमा दुर्गम स्थान हिँडेर जानुपर्ने, जंगलको बाटोमा न जाडो न गर्मि मौसम रमाइलो थियो । सुत्न र खान अलिक कठिन थियो । टाढा टाढाको गाँउमा हामी दुई केटा मान्छे उत्तरदातालाई भेट्न जान्थ्यौे र सजिलो सजिलो नजिकका स्थानमा केटीहरुलाई पठाउथ्यौ । यस क्रममा हामी चारजना मकवानपुरको बिकट गाउँ ठिंगनमा जानुपर्ने थियो ।

    सजिलो सजिलो स्थानमा केटी साथीहरुलाई पठाएर हामी दुईजना ठिंगन तर्फ लाग्यौ जंगलको बाटो जानुपर्ने जाँदा जाँदा दुईघन्टा जति लाग्यो तामाङ गाँउ त्यहाँ घर घरमा पुगेर संस्थाले सहयोग गरेका, पढाएका बालबालिकाका अभिभावकलाई उनिहरुले के के पाए? खुसि बेखुसि के छन्? तिन पृष्ठको प्रश्नावली भर्नुपथ्र्यो । सिसाकलमले भथ्र्यौ अनि बेलुकी कोठामा पुगेर हामी चार मध्येको सुपर भाइजरले हामीले भरेको जाँच गर्थ्यों नमिले सच्याउथ्यौं । कोडिङ भएकाले संख्यामा गोला लगाउनुपथ्र्यो । 

    हामीलाई सर्भे गर्ने संस्थाबाट हाम्रो काम जाँचवुझ गर्न र हेर्न मानिस आउछन् भनेर तर्साइएको थियो । आउन त को आउने, त्यस्तो बिकटमा । त्यो बेला फोन र मोबाइल केहि थिएन । हामी ३ बजेतिर त्यहा ठिंगन गाउँमा पुगेर बच्चाका अभिभावक भेटेर फाराम भ¥यौ। प्रश्नावलि लिएर गाउँमा जाँदा बिचरा गाउँलेहरु दबाई माग्छन् । आफना समस्या सुनाउँछन् राय सल्लाह माग्छन् ।मानौं कि उनिहरुकोमा भगवान नै आएको छ, त्यो सबै सुन्नुपर्छ ।

    काम सक्दा साँझ ४ बजेको हुन्थ्यो । जंगलको बाटो जानुपर्ने थियो, ३ घन्टा जति हिँडेपछि साथीहरु भएको ठाँउमा पुगिन्थ्यो । हामी बाटो सोध्दै जंगलको बाटो लाग्यौं । दुईजना भएकाले हामीमा आत्मवल थियो । तर ठाउँ निकै बिकट र हामीलाई नौलो पनि थियो ।

    करिव आधा घन्टा जंगलको बाटो हिँडे पछि हामी दोबाटोमा पुगेर अल्मलियौं, सुनसान जंगल, घर बस्ती नभएको ठाउँ बाटो सोध्यो भने कोहि भेटिन्न । तसर्थ अनुमानको भरमा जंगलमा अन्धाधुन्धा अगाडि बढ्यौ । बिच बाटोमा पुग्दा भीर भेटियो फेरि फर्कियों । बाटोमा कालो पोलिथिनको पाईप जंगलमा बिछ्याएको देखियो । यो पाईप त पक्कै गाउँतिर पानी लैजान बिछ्याएको हो भनि पाईपको निसानामा हिड्दै जाँदा त्यो पाईप बिच जंगलमा पुगेर टुंगियो । हामी अलमल्लमा परेर हत्तासिएका थियौं ।
    मान्छे कोहि भेटिन्छन् कि भनेर चिच्यायौं तर कोहिले सुनेनन् । पानी पर्न थाल्यो बिच अनकन्टार जंगलमा हामी अलपत्र पर्यौं । हामीसंग एउटा लाईट, भिर्ने झोला जसमा भरेका फारम राख्न सकिन्थ्यो ।

    आफु रुझेर भिजेर पनि फारम जोगाउनु आवश्यक थियो । रिसर्च गर्ने संस्थाले दिएको पालीवाला टोपी थियो । मौसम मध्यम खालको भएकाले साधारण लुगामा थियौं । पानीले निथुर्क्कै चिवे चरीझै भिज्दै एघार बजेसम्म जंगलमा भौतारी रह्यौ तेतिबेला हामीले एउटा खोला देख्यौ । खोलातर्फ लाग्यौ । त्यहाँ विशाल ढुंगाको ओडार जस्तो रहेछ । त्यसमा ओत लाग्ने मनसायले ओढारमा पुग्यौं। शरिर पुरै निथुर्क्कै भिजेको थियो । अध्याँरो, चकमन्न, एकान्त स्थान, बिच जंगल, त्यहि ओडारमुनि भोकैरात काट्यौ । पानीको भलले शरिर पुरै भिजेको भएपनि भरेका प्रश्नावलिलाई हामीले सुरक्षीतै राखेका थियौं ।

    किनकी हामीलाई शुरुवाती दिनमा दिएको तालिमको राम्रै प्रभाव थियो । गणक बनेर बिच जंगलमा ओडार मुनी रात बिताएको सधै दिमागमा ताजै छ । बिहान ४ बजेतिर जंगलदेखि पर गाँउमा धिपधिप बत्ती बलेको देखियो । बल्ल अब बाँचीयो भन्ने सास आयो । भोकै जंगलमा पानीमा भिज्दै, ओडारमुनी सुतेर रात बिताइयो । गाउँमा बत्ती बालेको देखेर अब गाउँले उठे भन्ने लाग्यो ।भोलिपल्ट बिहानमात्र केटी साथीहरु बसेको कोठामा पुगियो । यति बृतान्त साथीहरुलाई बताईयो । गाउँलेसंग हामी त्यो बनमा यसरी ओडारमा बाँसबस्यौ भनेर सुनाउँदा उनिहरुले त्यो त बाघ बस्ने ठाउँ होनी धन्न बाँच्नु भएछ भनेका थिए ।

    तेहि बेला मकवानपुरकै आमभन्ज्याङ्गमा पुग्दा हाम्रो समूहको एक जना केटी साथीलाई ज्वरो आयो तिनि रुन थालिन् । हाम्रो अर्को केटा साथीले तिनिलाई बोकेर गाँउमा बस्ने ठाँउसम्म पुर्यायौं । गणक बन्दा धेरै उतार चढाव बेहोर्नुपर्छ । पैसा आउने भएको र जागीरको अभाव भएकाले युवा युवतिको गणकमा आर्कषण त छ नै तर यस काममा भएको चुनौती बुझ्न जरुरी छ  ।

    हुन त मानिसले गणकलाई चौतारामा बसेर फाराम भ¥यो होला भन्ने आरोप लगाउँछन् तर अधिकांशले त्यस्तो गर्देनन् सायद एकाधले गरेको गलतलाई लिएर गणकलाई आरोप लगाइन्छ । गणकहरु प्रश्नावलि लिएर उत्तरदाताकोमा जाँदा कतिपय प्रश्नले समस्या पनि खडा गर्दछ । 

    नेपालमा हुने विभिन्न अनुसन्धान तथा तथ्यांक संकलन गर्न मुलतः मानविकि संकाय अन्तर्गत जनसंख्या बिभागबाट दिक्षित भएकाहरुले नेतृत्व गरिरहेका छन् । हुन त अहिले यातायात साधन श्रोतको उपलव्धताले अनुसन्धानमा जान गणकहरुलाई सहज होला तथापि गणक बन्ने काम सहज छैन । जनगणना २०७८ मा पनि ३ जनाले ज्यान गुमाएको समाचार आएको छ । गणक बन्दा अर्को समस्या सुत्न र खानको पनि हुन्छ किनकी गाँउमा धेरै कोठा भएका घर बिस्ताराको उपलव्धता तथा अनाज तरकारीको जोहो गर्न समेत कठिन हुन्छ ।जीवनको काल खण्डमा बिभिन्न उतारचढावसंगै बालबालिकासंग संस्थामा काम गर्दा ४ वटा जति रिसर्चमा काम गरियो होला ।

    हुन त रिसर्च भनेको नयाँ कुरा पत्ता लगाउनु नै हो तर हामी कहाँ भैरहेको बिषयमा पनि बिस्तृत खोजी गर्नुलाई पनि रिसर्च भनिन्छ । म आफू आजका मितिसम्म जे जति अनुसन्धानमा संलग्न रहे त्यसमा सहज थियो त्यो कुन अर्थमा भने हामी जो उत्तरदातासंग जान्थ्योै त्यो उत्तरदाता बालबालिकाहरुले हामीसंग कुनै न कुनै फाईदा लिइरहेकोले ऊ हामीसंग अनुगृहित थियो र सत्य कुरा आउथ्यो । सामान्यतया उत्तरदाता सहजै भेटाउन गाह्रो हुन्छ ।

    प्रश्न निर्माण गर्दा स्थानिय वस्तुस्थिति र परिबेसको ज्ञान हुन जरुरी छ । अंगे्रजीमा भनाई छ नि “स्टुपिड कोस्चन स्टुपिड एनसर” भने जस्तै हामीले प्रश्नावलितयार गर्दा अनुसन्धानको उदेश्य मात्र केलाएर पुग्दैन । बस्तुपरक हुनुपर्दछ ।

    २०५३ सालमा बझाङको मालुमेला र मटेला आदि स्थानमा जाँदा स्थानिय मानिसले “राजा बिरामी छन् रे राजाका छोरा कत्रा छन्” भनेर सोधे म अलमल्ल र अकमक्क परे पछि सोचे उनिहरुले स्वर्गिय पुर्व प्रम मनमोहन अधिकारीको कुरा गरेका रहेछन् जुन बेला उनि बिरामी भएर टिचिङमा उपचारत थिए । मानीसको चेतनाको स्तर धेरै कम रहेको मुलुकमा अनुसन्धान कठिन कुरा हो जसमा अनुसन्धानकर्ताले लगान मेहनतका साथ अनुसन्धानको उदेश्य र विधि तय गर्नुपर्छ  ।  

    सर्भे वा रिसर्च तथ्याङ्क संकलनमा जादाँ धेरै कुराहरुमा हेक्का राख्नुपर्दछ किनकी मौसम प्रतिकुल रहेमा पनि अनुसन्धान नै अधुरो हुन्छ । समाजमा हरेक किसिमका उत्तरदातासंग जानुपर्ने भएकाले गणकहरुमा बिबिधताका साथैधैयर्ता तथा असल श्रोता बन्न आवश्यक छ । कतिपय क्षेत्रमा प्रश्नावलि लिएर जाँदा जो पनि सोध्न आउछन्, हाम्रो दुःख हामीसंगैछ, किन दुनियालाई सुनाउने भन्दछन् । २०७५ साल ताका तथ्याङ्क विभागले आर्थिक जनगणना गरेको थियो ।

    त्यसमा कर, प्यान, आयव्यय आदि सोधिएको थियो जहाँसम्म यो बिषयमा सहज सत्य उत्तर सायदै आएन होला । हुन त अनुसन्धानको आफ्नै गोपनियताको कानुन नियम छ भनिन्छ । तैपनि उत्तरदाता स्वयम् आश्वस्त हुने बातावरण छैन । कानुनले गोप्य राख्ने भनेको भरमा व्यवसायीले आफ्नो व्यवसायको आध्योपान्त दिने कुरै भएन । अहिले प्रायः विश्वविद्यालयको पाठ्यक्रममा अनुसन्धान भन्ने विषय अनिवार्य गरि राखेको छ । जसमा अनुसन्धान पढाइन्छ तथापी बिद्यार्थीहरुमा खासै ज्ञान छैन । त्यसकारण उनिहरुलाई स्नातकोत्तरमा सोधपत्र तयार गर्दा कठिनाई भैरहेको छ जसमा प्लेगरिजम अर्थात् नक्कल गरेको भनेर बिबाद भैरहेको छ । 

    विद्यार्थीहरुमा सोधपत्र समेत नक्कल गर्ने सार्ने अरुबाट तयार गराउने प्रबृति बढिरहेको छ यसमाकलेज तथा विश्वविद्यालयको प्रमुख दोषि एवं शिक्षकहरुको पनि मतियारी भूमिका छ । विश्वविद्यालय त अपराधी नै हुन् । विश्वविद्यालय आसपासका कतिपय फोटोकपि सेन्टर र पसल तिर यहाँ थेसिस गराउन सकिन्छ भनेर सम्पर्क नम्वर समेत राखेको भेट्न पाइन्छ ।

    बेफुर्सदी कामकाजी मानिस कर्मचारी पैसा तिरेर थेसिस लेख्न पनि लगाउछन् ।कलेजहरुमा कर्मकान्डी किसिमबाट पढाएको अनुसन्धान पद्धती तथा रिपोर्टले हाम्रा बिद्यार्थीहरु कति पारांगत होलान् थाहा छैन तर विश्वविद्यालयले अनुसन्धान, सर्भे, तत्थ्याङ्क संकलन जस्ता बिषयमा मनग्गे ज्ञान दिनुपर्छ । नेपालका कलेज तथा विश्वविद्यालयहरुले रिसर्च अनिवार्य गरि बिद्यार्थीहरुलाई फिल्डमा पठाउने गर्नुपर्छ । केहि कलेजले निरिक्षण अनुसन्धान अर्थात् अवजरभेसन रिसर्च गराउँछ जहाँ अनुसन्धानकर्ताले प्रत्यक्ष स्वयं देखेर अनुसन्धान गर्छ ।

    अनुसन्धान र अध्ययनको दायरा बढाएर सहज पार्नुपर्छ साथै अनुसन्धान कठिन हुन्छ भन्ने हाउगुजिको अन्त्य गरिनुपर्छ । गणकहरुमा कम्तीमा पनि स्थानिय भाषा परम्परा संस्कृति, धर्म, भेषभुषा,बोली व्यवहार, चालचलनको ज्ञान हुन जरुरी छ तव मात्र सहि तथ्य उजागर हुन्छ । अनुसन्धानमा लाग्ने, कोडिङ, टेबुलेसन गर्ने, रिर्पोट बनाउने बिज्ञले समेत अनुसन्धानमा छोटो समयलाई भए पनि फिल्ड पुग्नु बस्तुस्थिति बुझ्नु जरुरी छ । रिसर्चलाई सहज, उपयोगि, कम खर्चिलो बनाउँ र यसलाई सर्वसुलभ, सरल भाषामा यसका परिणाम तथा तथ्यहरुलाई उजागर गराऔ जसबाट परिणाममुखि बन्न सकिन्छ ।

    अरुको डाटा तथ्य थाहा पाउन आतुर हामी आफ्ना कुरा डाटा दिन किन कन्जुस्याई गर्छा, यसको मुल कारण अज्ञानता हो । अज्ञानता चिर्न पनि अनुसन्धान नै चाहिन्छ ।  अनुसन्धान गर्नमा महिलामा रहेको इश्र्यालु भावनालाई ज्वलन्त उदाहरण मान्दै “एक महिलाले अरु महिलाप्रति गर्ने इश्र्याले गरिएको अनुसन्धान, सोधखोज र छानबिन एफ.बि.आई. भन्दा बृहत् हुन्छ” भन्ने पश्चिमाहरुको भनाई छ । अनुसन्धानहरु बजार,स्वास्थ्य,अर्थ, कृषि, विज्ञानमा अति आवश्यक छन किनकी यो क्षेत्रमा व्यापक विकास विस्तार जरुरी छ । हामीकहाँ विदेशबाट लगानी गर्न कम्पनीहरु नेपालमा आउँदा इआइए अर्थात वातावरण प्रभाव मुल्याकंनगर्नुपर्छ जुन कर्मकान्डी छ जसमा न लगानीकर्ता खुसी छ न त सरकार नै ।

    नेपालमा केहि कम्पनी अव्वल रिसर्चकै कारणले नम्वर एक बनेका छन् तसर्थ अध्ययन र अनुसन्धानलाई ख्यालठट्टा नसोचौं ।सबैलाई व्यवसाय, उद्योग र पेशाको बारेमा अत्यावधिक तथ्यांक चाहिएको छ तर आफ्नो बारेमा तथ्यांक दिन कोही तयार छैन अरुको बारेमा थाहा पाउन लालायित छ । यो कटु सत्य हो । तथ्यांकमा उदार बनौ र तथ्यांकको दुरुपयोग नगरौं ।

     

     

     

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई