विज्ञापन भन्नाले विचार, सामान, कारण, सेवालाई सर्वसाधारण जनमानसमा जानकारी दिने, उत्साहित गर्ने तरिका र अभ्यास हो। जसले मानिसहरुलाई विज्ञापन प्रति आर्कषण गर्छ। युनिसेफ शिक्षाको विज्ञापनमा खुर्मानेको भूमिकाको विज्ञापन होस् या कृष्ण पाउरोटी वा शेर्पा साबुनको विज्ञापन होस्, यसमा मिठास छ। विज्ञापनमा सिकायत पनि छ। हर्लिक्सको विज्ञापनमा पाइलट बन्ने कुरा विज्ञापनमा गरीएको उक्साहट हो तर, उक्साहटको पनि सिमा हुन्छ। कति मानिसलाई सिधै सामान किन्नुहोस् भन्यो भने अन्यथा सोच्छन्। त्यहि कुरा नाटकिय ढंगबाट बनाएर सेवा र वस्तुको विज्ञापन सोचिन्छ, बनाइन्छ, जसबाट दर्शक श्रोता दंग पर्छन्।
कुनै बेला यस्तो पनि थियो कि बिषय वस्तु होइन विज्ञापन आर्कषक थियो। जसबाट दर्शक, श्रोता र पाठक लोभिन्थे। विज्ञापन हेर्दा आनन्द आउने विज्ञापन पनि छन्। आजकल विज्ञापनमा सृर्जना समावेश छ तर मिठासपन अझै छैन। हालै आएको हर्लिक्सको विज्ञापनमा के खुवाउनुहुन्छ उसलाई? गएको महिना ३० थियो होइन र मामु? यो संवादमा मज्जा र स्वतःस्फूर्त छ। विज्ञापनमा वस्तुसेवाको अवधारणा जोडिन्छ जस्तो जहाजको विज्ञापनमा भुईं छाडेको देखाउँदा स्वभाविक हुन्छ। नेपाली विज्ञापनमा अक्सर देखिने पात्र हुन् मदनकृष्ण र हरिवंश। उहाँहरु रडदेखि कर्डसम्म नुन देखि सुनसम्मको विज्ञापनमा देखिनु हुन्छ।
कुनै विज्ञापनले निकै चर्चा पायो। जसमा मनाङ्ग चामल पनि छ। एनसेलको विज्ञापन पनि निकै हेर्न लायक र मनोरन्जन दिने खालको छ। वाईवाईको छाउपडिको विज्ञापन निकै मर्मस्पर्सि थियो जसमा रातोको चर्चा छ। रातोले रजस्वला बुझाउँछ। कसरी विज्ञापन वाह र कसरी विज्ञापन छ्या हुन्छ? यसमा रचनाकार, लेखक, कलाकार र नायक आदिको अभिनयमा पनि भर पर्छ। दिपक र दिपाको जोडिको विज्ञापन पछिल्लो समय निकै लोकप्रिय छ। त्यसो त मदन र हरिको जोडी सदासर्वदा चलिरहेको छ तर, दर्शक र श्रोताहरु नयाँ अनुहार खोज्छन्। यसको अर्थ उहाँहरुलाई नराम्रो मान्ने होइन।
हामी बनाउँछौ नेपाल भन्ने संवाद र राष्ट्रिय झण्डा प्रयोग गरीएको विज्ञापन विवादमा आयो। विज्ञापनहरु यदाकदा विवादमा आईरहन्छन्। विज्ञापनको लेखनले मात्र पुग्दैन। योग्य कलाकार, पात्रको चयन र सद्भालाई ध्यान पु¥याउनुपर्छ। किसान टयाक्टरको होर्डिङ्गमा लेखिएको विज्ञापनमा “स्कुलको बच्चा बोक्ने” समेत लेखिएको छ। प्रयोजन नभए पनि चलनचल्तिलाई बताइएको यो विज्ञापन देख्दा अलिक अच्चम लाग्छ। डिउ नामक पेय पदार्थको विज्ञापनमा पहाडमा हाम फालेको छ, यो अस्वभाविक नै छ।
विज्ञापन बनाउँदा मेहेनत छ तर मेहेनत अनुसार विज्ञापनदाताबाट लगानि छैन भन्ने गुनासो बारम्बार आइरहेको वेला छ्या विज्ञापनलाई अन्यथा मान्न सकिन्न। कुनै समयमा हर्लिक्स खाए पाइलट बन्ने विज्ञापन पनि थियो। सन्देशको लक्ष्य, उपभोक्ता, ग्राहक, श्रोता र दर्शकलाई बुझाउने र सम्झाउने, मन छुने बनाउने हो तथापि यसका लागि अस्वभाविक र अकल्पनिय, भ्रामक कुरा दिनु अन्यथा हो। अध्ययन र अनुसन्धान पटक्कै नहुने देशमा विज्ञापनमा पनि त्यहि नियती नहोला भन्न सकिन्न। अध्ययन अनुसन्धान विनाको सामाग्रि केवल सामाग्रिका लागि होला तर, उद्येश्य सिद्ध हुँदैन, जसबाट न बिज्ञापनदाताको लगानि उठ्छ, न विज्ञापनकर्मीले जस पाउँछ।
करोडौंको एनआइसी एसिया बैंकको विज्ञापनले बजार तताएको समय, ओली बाले सामाजिक सुरक्षाको आउटडोर विज्ञापन तथा पत्रपत्रिकाको जाकेटले छापा सञ्चार एकपटक जुर्मुराएको थियो। त्यो वेलाको यो विज्ञापन बजारको योगदानलाई विज्ञापनबाटै गरिखानेले पनि खासै कदर, महिमा र प्रसंसा गरेको देखिएन। विज्ञापनलाई वाह, छ्या बनाउने एजेन्सीले नै हो, जसमा विभिन्न देशका विज्ञापन नमुनाहरु संकलन गर्ने, अनुसन्धान गर्ने, गहिरिएर सोच्ने, घोत्लीने, छलफल अन्तरक्रिया गर्ने आदि मेहनतबाट नयाँ आर्कषक विज्ञापनहरु बनाउन सकिन्छ।
सन् २०१८ मा रसियामा वल्र्ड कप हुने समयमा बर्गर किङ्गको एक विज्ञापन जसमा भनिएको थियो कि, कोही महिलाले वल्र्डकपको खेलाडीबाट गर्भवती भएमा जिवनभर बर्गरकिङ्गमा बर्गर फ्रि खान पाउँछ। भन्ने सन्देश दिएको थियो। यसको व्यापक विरोध भएपछि कम्पनीले क्षमा माग्यो। बहुराष्ट्रिय कम्पनी जोन्सन एण्ड जोन्सनको टाल्क बेस बेवि पाउडर सन् २०२३ बाट बन्द गरियो। यो विज्ञापनको बारेमा पनि धेरै विवाद आए यो प्रडक्टको प्रचार विज्ञापनमा खेल्न कलाकारहरुले आनाकानी गरे। नेपालमा कुनैबेला खूव चलेको गोरखकाली टायरको विज्ञापन पनि हो। चिसो भनेकै कोकाकोला विज्ञापन पनि प्रभावकारी थियो। यो मुना चियाको समय हो, यो रेडियो जिङ्गल थियो। कतिपय विज्ञापनहरु धेरैपटक हेरे पछि मात्र थाहा हुने खालका हुन्छन्।
विज्ञापनको वारेमा बिषयवस्तु बनाउने, तयार गर्ने, क्रियटिभ एजेन्सीले ध्यान दिनुपर्छ। धेरै विज्ञापनहरु विवादमा पर्दछन्, जसमा महिला र बाल हिंसा समावेश हुन्छ। यसैले दर्शक, श्रोता र पाठकलाई इंगित गरे अनुसार ठिक ठिक समयमा मात्र विज्ञापन बजाउनुपर्छ। विदेशमा कतिपय राती नौ बजेपछि मात्र देखाइन्छ र बजाइन्छ हामी कहाँ यो धारणा विकास हुन सकेको छैन।
सञ्चार गृहको समाचारको कारणले अपराध र हिंसा भड्किन्छ भने विज्ञापन पनि सचेत भएर बनाउनुपर्छ। विज्ञापनमा राष्ट्रिय झन्डा प्रयोग गरेको पाइन्थ्यो यो हाल प्रतिवन्ध छ। विज्ञापन बनाउने र विज्ञापन बजाउने सबैले यो विषयमा हेक्का राख्नुपर्छ। कतिपय विज्ञापनहरु हेरौं हेरौं लाग्ने हुन्छन् जसमा मिठास र रोमान्चकपन झल्किन्छ। महिलाहरु अधिकारकर्मिहरु विज्ञापनकर्मिलाई महिलालाई बस्तुको रुपमा प्रस्तुत् गरेकोमा रोश व्यक्त गर्छन्। विज्ञापन बनाउँदा महिलालाई प्रयोग गरेकोमा आपत्ति गर्छन्। विज्ञापनमा कथा, वस्तु, संगित, अभिनय र विषयबस्तु मिल्नुपर्छ।

सन् १९५० मा सेभेन अपको विज्ञापनमा डेढ वर्षको बच्चाले सेभेनअप पिएको छ, जुन प्रतिबन्ध लगाइयो। खासमा विज्ञापनले दर्शकलाई वस्तु वा सेवाको बारेमा उत्साहित गर्ने, संझाउने, सूचित तथा जानकारी गराउने हुनुपर्छ। उत्कृष्ट विज्ञापन हुनको लागि उमेर, आय र लिङ्गमा ध्यान दिनुपर्छ। सन् २०२१ मा नेदरल्यान्डले फोसिल फ्युलको विज्ञापनमा प्रतिवन्ध लगाएको थियो। गुगलका अनसार शुरुको विज्ञापनको इतिहास हेर्दा पहिलो विज्ञापन क्यान्डि बेच्नका लागि बाँसको मुरली बजाएर गरिएको थियो।
सन् १९७१ ताका अमेरिकामा रक्सि, चुरोटको विज्ञापन रेडियो तथा टिभीमा प्रतिबन्ध लगाइएको थियो। यद्यपि प्रतिबन्धले मात्र वस्तु र सेवाको विक्री प्रभावित हुँदैन। यो दिर्घकालीन समाधान पनि होईन। सन् २००२ मा अमेरिकामा दैनिक १००० विज्ञापन आउँदा मुस्किलले ८० वटा हेरिन्थ्यो। जवकि अमेरिकाको कूल ग्राहस्र्थ उत्पादनमा विज्ञापनको योगदान अंश २.३ प्रतिशत थियो। एकातर्फ विज्ञापनकर्मि समाज बदलिए हामी बदलिने हो, हामीले विज्ञापनदाताको अनुकुल काम गर्नुपर्छ भन्ने छ। अर्को तर्फ अधिकारकर्मिहरु, विज्ञापनकर्मितर्फ इंगित गर्दै तपाईहरुले विज्ञापन नबनाउनुहोस् भन्दछन्।
विज्ञापनकर्मिका पेशा नै विज्ञापन बनाउने हो। फेरि विज्ञापनकर्मि र विज्ञापनदाता पनि यहि समाजका सदस्य हुन्। समाज जता जान्छ, प्रचार प्रसार पनि त्यहि स्वरुपमा जान्छ। खुल्ला परिवेस र स्याटलाइटको यो दुनियाँमा हामीले प्रतिबन्ध लगाएका विज्ञापनहरु सामाजिक सञ्जालमा भेटिन्छन्। यो शाषकवर्गले, अधिकारकर्मिले हेक्का राख्नुपर्छ। अर्थतन्त्रसंग जोडिने विषयको निर्णय गर्दा शासक, न्यायकर्मि र प्रशासकले क्षणिक आवेश, आवेग, भावना र उक्साहटमा आएर गरिनुहुदैन। विज्ञापन धेरै मानिसको दालरोटिसंग जोडिएकोछ, जुन कुरा ब्ल्याक ल डिक्सनरीमा नभेटिएला तर वेल्थ अफ नेशन्समा भेटिन्छ। सिनेमामा पनि केहि मात्रामा यौन प्रभाव देखिन्छ, नत्र सिनेमा नै चल्दैनन्।
विज्ञापनकर्मिहरुलाई महिला हिंसा गरेको, नारीलाई यौनसंग जोडेको आदि आक्षेप लगाउने गरिन्छ। यसमा विज्ञापनकर्मिहरु समाज स्वरुप बदलिए हामी पनि बदलिन्छौ भन्ने तर्क राख्छन्। राम्रा विज्ञापन र नराम्रा विज्ञापन हेर्ने नजर पनि हो। विज्ञापन अर्थतन्त्रको ऐना हो, कति मान्छे नेता बने, कति सांसद भए, कति मन्त्री भए भन्ने कुराले भन्दा कति विज्ञापन बने भन्ने कुराले अर्थ राख्छ। विज्ञापन निर्माण समाजको परिदृश्यबाट हुन्छ किन कि विज्ञापन समाजकै लागि हो। विज्ञापनमा सरलता, शिष्टता, जानकारी, रोचकता रमाइलोपना हुनुपर्छ। यस अर्थमा सुन्दर परिकल्पना, मन छुने, सम्झाइराख्ने विषयबस्तु हुनुपर्छ। जसको प्रस्तुती सुन्दर रुपमा कलाकार, गायक, नायक, नायिका, गायिका प्रहसक व्यङग्यकारबाट हुनुपर्छ। यो सबैको समिश्रणबाट वाह विज्ञापन हुन्छ।



