काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिजका लागि जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।
आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन्। यसअघि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहाब आलम र शेर मल्ल रहेका छन्।
अक्टोबर ९ देखि सुरु हुने यस सिरिजमा नेपाल, ओमान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। सिरिजअन्तर्गत नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा पुनः क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका रहेको छ।


